आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तादेखि धवलागिरि हिमालमै

काठमाण्डौ । धवालागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्ता भइसक्दा पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ ।

प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । अनुकुल मौसम भएमा आज शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने जानकारी आएको पनि उहाँले बताउनुभयो ।

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु गएको असोज २१ देखि सम्पर्कबिहिन भएकोमा २३ गते शव भेटिएको थियो । ‘आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ पर्वतारोही बिचमै आरोहण रद्द गरेर फर्किएका थिए ।