भारतको मुम्बईमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या

काठमाण्डौ । भारतको मुम्बईमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । गएराति मुम्बईको बान्द्रा पूर्वमा नेता सिद्दिकीमाथि गोली प्रहार भएको थियो । छातीमा गोली लागेर गम्भीर घाइते भएका उहाँलाई लगत्तै लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।

छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा आक्रमण भएको र घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको मुख्यमन्त्री एकनाथ शिन्देले जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गोली लागेर ज्यान गुमाएका सिद्दिकी महाराष्ट्रका पूर्व मन्त्रीसमेत हुनुहुथ्यो ।

यसै वर्ष गएको फेब्रुअरीमा उहाँ कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा सामेल हुनुभएको थियो । सिद्दिकी बिगत ४८ वर्षदेखि कांग्रेसमा हुनुहुन्थ्यो । गोली चलाएको आरोपमा पक्राउ परेकामध्ये एक जना हरियाणा र अर्का एक जना उत्तर प्रदेशका रहेका छन् । पक्राउ परेकासँग सोधपुछ चलिरहेको प्रहरीले जनाएको छ ।