काठमाण्डौ उपत्यकामा नेपाल प्रहरी र सशस्त्रबाट निःशुल्क बस सेवा सञ्चालन

काठमाण्डौ – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले काठमाण्डौ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेका छन् । दशैँको मुख्य दिन आज पनि सर्वसाधारणको आवतजावतका लागि सुविधा पुगोस् भन्ने उदेश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहारी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यी दुई सुरक्षा निकायले हिजो पनि काठमाण्डौ उपत्यकामा निःशुल्क बस सञ्चालन गरेका थिए । प्रहरीको एउटा बसले रिङरोड भित्रका सर्वसाधारणलाई र अर्को बसले रिङरोड बाहिरका सर्वसाधारणलाई सेवा दिनेछ ।

निःशुल्क बस सेवाको एक नम्बर रुटले प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी त्यहिँ रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

त्यसैगरी अर्को दुई नम्बरको रुटमा नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्नेछ ।

यी बस बिहान साढे ८ बजे र दिउँसो चार बजे गरी दुई सिफ्ट चल्नेछन् । यस्तै सशस्त्र प्रहरी बलले सञ्चालन गरेका बस रिङरोडमा चल्नेछन् । सशस्त्र प्रहरी बलले पालिकासँगको समन्वयमा देशका विभिन्न ठाउँमा एक सय ९७ वटा लिङ्गेपिङ राखेको सशस्त्रका डीएसपी एवम् सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।