आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाण्डौ – आज बडादशैँको मुख्य दिन, विजयादशमी । असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ ।

आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद लगाइन्छ । विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भन्ने जस्ता आशीर्वाद दिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत निकालेको छ ।

यस्तै बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने साइत छ । साइत नखोज्ने र साइतमा लगाउन नभ्याउनेहरुले आज दिनभर नै टीका लगाउन मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । उहाँका अनुसार टीका लगाई माग्ने पूर्व फर्किन उत्तम छ । त्यस्तै आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरू गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आउँदो ३० गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ ।