बीपी राजमार्ग आजदेखि खुल्ने : मर्मतको अन्तिम चरणको काम चल्दै

काठमाण्डौ  । बाढीपहिरोले क्षति गर्दा अवरुद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत बीपी राजमार्ग आज शुक्रवारदेखि सञ्चालनमा आउने जानकारीसमेत गराउनुभएको छ ।

आज बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा ल्याउने गरी मर्मतको अन्तिम चरणको काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिनुभएको छ । अवरुद्ध सडक खुलाउन रातदिन र चाडपर्व नभनी काम गरिएको उहाँको भनाइ छ । यो राजमार्गको विभिन्न ठाउँमा गरी १२ किलोमिटर भन्दा धेरै भागमा क्षति पुगेको थियो । उहाँका अनुसार आजदेखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्नेछ । देशका अरू ठाउँमा सडक खुलाएपछि सबैजसो मेसिन र जनशक्ति बीपी राजमार्ग खुलाउन परिचालन गरिएको सचिव शर्माले बताउनुभयो ।

केही मेसिन भाडामा पनि लिएर काम भएको छ । धेरैजसो ठाउँमा खोला फर्काएर र बगरमा सडक बनाइएको छ । पूर्वी नेपालसँग जोड्न बिपी राजमार्ग निकै महत्वपूर्ण भएकाले यो सडक खुलाउन डेडिकेटेड टिम नै खटाइएको सचिव शर्माले जानकारी दिनुभयो ।

सडक सहज हुँदा बीपी राजमार्ग हुँदै दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध हुँदै मुख्य पर्व दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुःख पाएका छन् । अब सडक खुलेपछि टीका लगाउन आउजाउ गर्नेलाई केही सजिलो हुने र टीकापछि पूर्वी नेपालबाट साना गाडी बीपी राजमार्ग हुँदै काठमाण्डौ आउजाउ गर्न सक्ने सचिव शर्माले उज्यालोलाई जानकारी दिनुभएको छ ।