दशैँ मनाउन आठ लाख जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिए

काठमाण्डौ ।  दशैँ मनाउन आज बिहानसम्म आठ लाख जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान छ ।

महासङ्घका अध्यक्ष बिजय स्वारले यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताउनुभयो । सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन् ।

काठमाण्डौ उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दशैँ मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दशैँमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘जाँच’ भइरहेको जानकारी दिनुभयो ।