आज विश्व दृष्टि दिवस मनाईंदै, नेपालमा झन्डै ११ लाख बालबालिकामा दृष्टिदोषको समस्या

काठमाण्डौ । आज विश्व दृष्टि दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यो बर्ष ‘बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।

विश्व स्वास्थ्य सङ्गठन र ‘इन्टरनेशल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आईएपीबी)ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएका छन् । नेपालमा झन्डै ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान छ । जसमध्ये सात लाख बालबालिका अझै दृष्टिदोषको उपचारबाट वञ्चित छन् ।

दृष्टिदोषको समस्या भएका बालबालिकाले आँखा परीक्षण गरी चस्मा लगाउँदा उनीहरुको कक्षा उत्तीर्ण दरमा ४४ प्रतिशतसम्मले वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ । आफ्ना बालबालिकाको आँखालाई विशेष ख्याल गर्न नेत्र रोग विशेषज्ञको सुझाव छ ।

नेपाल नेत्रज्योति सङ्घले दिवसको पूर्वसन्धामा हिजो बालबालिकाको निःशुल्क आँखा परीक्षणसमेत गरेको छ । सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घद्वारा देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० वटा आँखा उपचार केन्द्रहरुबाट हिजो १५ बर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।