काठमाण्डौ उपत्यकाबाट दैनिक एक लाख जना बाहिरिँदै

काठमाण्डाै ।  बडादशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट दैनिक एक लाख जनाको हाराहारीमा मानिस बाहिरिन थालेका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा गाडी र यात्रुको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक एक लाख जनाको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएका बताउँदै उहाँले आइतवार र मङ्गलवारको तुलनामा आज यात्रा गर्नेको सङ्ख्या बढेको छ । दैनिक सरदर ३० हजार जना मानिस सङ्घीय राजधानी प्रवेश गरेका छन् ।

डीएसपी कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा गाडी र यात्रु बढे पनि गएको वर्षको दशैँमा जस्तो नाका पार गर्न घण्टौं प्रतीक्षा गर्नु नपर्ने जानकारी दिनुभयो । अहिले अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, दक्षिणकाली–हेटाँैडा र कान्ति राजमार्ग भएर यात्रु गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।