नेपालले स्वास्थ्य बीमा सुधारमार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयत्न गरिरहेको छ:मन्त्री पौडेल

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य सङ्कटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य सङ्गठनसँग आग्रह गर्नुभएको छ ।

भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एशिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले दक्षिण एशिया जनसाङ्ख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रूपमा रहेको भन्दै यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको बताउनुभयो । नेपालको समस्या पनि दक्षिण एशियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि लाग्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

मन्त्री पौडेलले सङ्गठन सदस्य रहेका दक्षिणपूर्वी एशियाली राष्ट्रका स्वास्थ्यमन्त्री र सङ्गठनका उच्च अधिकारीको बैठकमा  सबै सदस्य राष्ट्रहरूले आन्तरिक स्रोत थप गर्नुपर्ने बताउनुभयो ।

उहाँले बैठकका क्रममा सङ्गठनका दक्षिणपूर्वी एशिया निर्देशक सइमा वाजेदसँग भेटवार्ता गर्नुभएको थियो।मन्त्री पौडेललेस्वास्थ्य बीमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन नेपाल लागिपरेको भन्दै सङ्गठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गर्नुभयो ।