इजरायलले एकै दिन लेबनानका एक सय २० ठाउँमा हवाई आक्रमण गर्‍यो

एजेन्सी ।इजरायलले एकै दिन लेबनानका एक सय २० ठाउँमा हवाई आक्रमण गरेको छ । हिजबुल्लाह समूह लक्षित एक सयभन्दा बढी लडाकु विमानबाट इजरायलले ती क्षेत्रमा आक्रमण गरेको हो । आक्रमणबाट राजधानी बेरुतसहित दक्षिणी लेबनानका विभिन्न ठाउँमा  भवनहरु ध्वस्त भएका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

ती भवनहरुमा हिजबुल्लाह समूहका हतियार केन्द्र या अन्य रणनीतिक केन्द्र रहेको इजरायली सेनाको दाबी छ । हिजबुल्लाह समूहले पनि इजरायलमा एक सय ३० वटा मिसाइल प्रहार गरेको छ ।  हिजबुल्लाहले प्रहार गरेका सबै मिसाइल आकाशमै नष्ट गरिएको इजरायली सेनाले जनाएको छ । यसैबीच इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा ७७ जनाको ज्यान गएको छ ।

विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको दिन हिजो इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ७७ जनाको ज्यान गएको र सय जनाभन्दा धेरै घाइते भएका खबरमा उल्लेख छ ।