निम्न वर्गका जनताले जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौँ : मन्त्री खड्का

काठमाण्डौ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरुलाई पनि जलविद्युत आयोजनाहरुमा शेयर दिनेगरी छलफल अघि बढाएको बताउनुभएको छ । हिजो (सोमबार) पत्रकारहरुसँगको छलफलमा ऊर्जामन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

ऊर्जामन्त्री खड्काले कुनैपनि जलविद्युत आयोजना बनाउँदै गर्दा प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेको तर पैसा नहुने वर्ग शेयर लगानी गर्नबाट वञ्चित हुने भएकाले उनीहरुले पनि १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्थाको लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले तल्लो वर्गलाई समृद्धि बनाउने सरकारको लक्ष्यअनुरुप तल्लो वर्ग समृद्ध नभइ मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो । उहाँले केही मुठिभर मान्छेहरु समृद्ध बनेर नेपाल समृद्ध बन्न नसक्ने दाबी गर्नुभयो । उहाँले तल्लो वर्गले पनि जलविद्युत आयोजनामा १० प्रतिशत शेयर प्राप्ति गर्नेगरी समावेश गर्न छलफल अघि बढाएको बताउनुभयो । उहाँले नेपालको पानी जनताको लगानी भन्ने अघिल्ला सरकारले गरेका निर्णयलाई फाउण्डेसनको रुपमा लिएकाले त्यही सकारात्मक कुरालाई समावेश गरेर जाने बताउनुभयो ।

त्यसैगरी, ऊर्जामन्त्री खड्काले सरकारले अबको १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले २८ हजार ५ सय मेगावाटमा १३ हजार ५ सय नेपालमा नै खपत गर्ने र १५ हजार मेगावट विद्युत विदेशमा निर्यात गर्ने योजनाका साथ सरकारले काम गरिरहेको बताउनुभयो ।