कान्ति लोकपथ आजदेखि सञ्चालनमा

काठमाण्डौ । बाढी पहिरोले ठप्प रहेको कान्ति लोकपथ आजदेखि सञ्चालनमा आएको छ । बाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माण गरेपछि आजदेखि गाडी सञ्चालनमा आएको हो । १० दिनदेखि बन्द रहेको सडक आज बिहानदेखि खुले पनि दिउँसोदेखि मात्र व्यवस्थित रूपमा गाडी गुड्न थाल्ने कान्ति लोकपथ आयोजनाका इन्जिनियरले बताएका छन् ।

नेपाली सेना चार दिनदेखि त्यहाँको पुलको पहुँचमार्ग र क्षतिग्रस्त पुनर्निर्माण गर्न खटिएको थियो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले कान्ति लोकपथ र बाग्मती पुल क्षतिग्रस्त बनाएको थियो ।

कान्ति लोकपथ सञ्चालन आएसँगै हेटौँडा र काठमाण्डौलाई जोड्ने सबै सडक सञ्चालनमा आएका छन् । हेटौँडा-काठमाण्डौ जोड्ने छोटो दूरीका हेटौँडा-फाखेल-काठमाण्डौ, हेटौँडा-कुलेखानी-चखेल-मातातीर्थ, हेटौँडा–कुलेखानी-मार्खु-चित्लाङ-चन्द्रागिरि–काठमाण्डौ सडक यसअघि नै सञ्चालनमा आएका छन् ।