गण्डकीदेखि पूर्वसम्मका केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ ।  गण्डकीदेखि पूर्वसम्मका केही ठाउँमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश,बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार अस्ति आइतवारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही हप्ता देशभरबाट बाहिरिने सम्भावना छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले यो हप्ता भित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताउनुभयो ।

यसपटक मनसुन बाहिरिने समय र दशैँ एकैपटक परेकोले मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।