दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ

काठमाण्डौ । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् ।

काठमाण्डौको नयाँ बसपार्क, बल्खु, कलङ्की, कोटेश्वरलगायतका ठाउँबाट आज १४ जना पक्राउ परेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले उज्यालोलाई जानकारी दिनुभएको छ । पक्राउ परेकामध्ये केहीले तोकिएको भन्दा धेरै भाडा लिएका, केहीले नक्कली टिकट बेचेका रहेका उहाँको भनाइ छ ।

दशैँको समय र खराब सडकलाई कारण देखाएर दोब्बरसम्म भाडा भइरहेको पाइएको पनि ट्राफिक प्रहरीले जनाएको । दशैँको बेला टिकटमा कालोबजारी भएमा नजिकैको प्रहरी वा १०३ नम्बरमा ट्राफिक प्रहरीलाई खबर गर्न प्रहरी नायब निरीक्षक रविन कार्कीले आग्रह गर्नुभएको छ ।