विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाण्डौ । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ ।

यही असोज २३ गते सङ्घका देशभर रहेका सञ्जालमार्फत बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले जानकारी दिनुभयो ।

सङ्घका महासचिव भरतबहादुर चन्दले सङ्घद्वारा देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रबाट १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने बताउनुभयो । पछिल्लो समय विश्वभरि नै बालबालिकामा दृृष्टिदोषको समस्या बढिरहेकाले पनि यसपटक बालबालिकाको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्व दृष्टि दिवस मनाउन गइरहेका उहाँले भन्नुभयो ।

नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये करिब सात लाख बालबालिका अझैपनि दृष्टिदोषको उपचारबाट बञ्चित रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरण कार्यमा सङ्लग्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको छाता सङ्गठन इन्टरनेसनल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)ले संयुक्त रूपमा यो दिवस मनाउन सुरु गरेका हुन् । यस वर्ष ‘बालबालिको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ अक्टोवर १० तारिख (असोज २४ गते) का दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।