‘एमबिएम आइडिया एक्स २०२३’ ह्याकाथन सम्पन्न

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको नेपालमै पहिलो अन्तराष्ट्रियस्तरको ‘एमबिएम आइडिया एक्स २०२३’ ह्याकाथन कार्यक्रम सम्पन्न भएको छ ।

प्रविधीमार्फत आदिवासी भाषाहरुको संरक्षण र प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको यस कार्यक्रमको समापन आज (आइतबार) तमू बौद्ध सेवा समितिको सभाहल, अनामनगरमा भएको हो ।

असोज १९ देखि २१ गतेसम्म सञ्चालित यस ह्याकाथन कार्यक्रममा ४८ राष्ट्रिय तथा अन्तराष्ट्रिय समूहका चारसय ५० जनाले नाम दर्ता गरेका थिए । त्यसमध्ये विभिन्न सहरका १३ वटा समूहका ४८ जना सहभागीहरुलाई छनोट गरी अन्तिम चरणका लागि बोलाइएको थियो । कार्यक्रम अवधीभर सबै सहभागीहरुले प्रविधीको प्रयोगमार्फत कसरी आदिवासी भाषाहरुको संरक्षण र प्रर्वद्धन गर्न सकिन्छ भनेर विशेषज्ञहरुसँग अन्तरक्रिया गरेका थिए ।

सहभागीहरुमध्ये शीर्ष ३ समूहलाई प्यानलले प्रमाणपत्र र नगद पुरस्कारसहित विजेता घोषित गरेको थियो । पहिलो स्थान हासिल गर्न सफल पुल्चोक क्याम्पसको ‘जेनन समूह’ले प्रमाणपत्रसहित पच्चीस हजार नगद पुरस्कार प्राप्त गर्‍यो । यसैगरी, दोस्रो स्थान हासिल गर्न सफल मेची बहुमुखी क्याम्पसको ‘लिपी समूह’ले प्रमाणपत्रसहित पन्ध्र हजार नगद पुरस्कार तथा तेस्रो हुनेमा पुल्चोक क्याम्पसकै अर्काे समूह ‘द मिसफिट्स समूह’ले प्रमाणपत्र र दशहजार नगद पुरस्कार प्राप्त गर्‍यो । त्यस्तै, मेची बहुमुखी क्याम्पसको अर्काे समूह, ‘किङ कोडर्स’ भने चौथौ घोषित भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् मदन भण्डारी मेमोरियल कलेजका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले नेपालमा बोलिने विभिन्न भाषाहरुलाई युवावर्गले समयअनुकूल संर्वद्धन गर्नु गर्वको विषय भएको बताउनुभएको छ । “प्रविधीमार्फत विद्यार्थीहरुले भाषालाई चित्रण गर्न, व्याख्या गर्न र सिकाइको नयाँ माध्यम स्थापना गर्न मद्दत पुगेको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रमलाई सफल बनाउन सबै सहभागीहरुको योगदान, समर्पण र कडा परिश्रमको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “हरेक भाषाको आ–आफ्नै संस्कृति हुन्छ र यसलाई जोगाउनुपर्छ । प्रविधिले हाम्रो संस्कृति, परम्परा र भाषाहरूको संरक्षण, विकास र प्रवर्द्धन गर्नुपर्छ । यो काम गर्ने तपाईं नै हुनुहुन्छ र मदन भण्डारी कलेज यस पहलका लागि सधैं तपाईंको साथमा छ ।” साथै, ह्याकाथन कार्यक्रमको अर्को संस्करण सञ्चालन गर्ने अध्यक्ष पाण्डेले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

त्यस्तै, कलेजका प्रमुख रमेशचन्द्र पौडेलले सहभागीहरूको रुचि, उत्साह र निरन्तर कोडिङ कार्यको लागि प्रशंसा गर्नुभयो । विद्यार्थीहरुलाई प्रविधीका विभिन्न आयामहरुसँग परिचित गर्न एवम् शिक्षण सिकाइलाई मूर्तरुप दिन ३ दिने ‘एमबिएम आइडिया एक्स २०२३’ प्रभावकारी साबित भएको उहाँले दाबी गर्नुभयो ।

भाषाविज्ञान केन्द्रीय विभागका भाषाविज्ञ प्रा डा. भीम गौतमले यस्ता कार्यक्रमले भाषा विज्ञानका समस्या र अवसरहरूको पहिचान गरको बताउनुभएको छ । उहाँले भन्नुभयोे, “यस ह्याकाथन कार्यक्रमले मेरो धेरै जिज्ञासालाई सम्बोधन गरेको छ र निकट भविष्यमा छिट्टै भाषिक ह्याकाथन आयोजना गर्ने पर्याप्त दृष्टिकोण रहेको संकेत गरेको छ ।” कलेजले आयोजना गरेका कार्यक्रमहरुमा विद्यार्थीहरु सक्रिय भएर अगाडि बढेको देख्दा खुसी लागेको उहाँको भनाइ छ ।

साथै, कम्प्युटर संघ नेपाल महासंघ (क्यान) का महासचिव चिरञ्जीवी अधिकारीले ‘एमबिएम आइडिया एक्स २०२३’ ह्याकाथन कार्यक्रम, आदिवासी भाषाको प्रवद्र्धनका लागि नेपालको प्रविधि र स्थानीय भाषालाई जोड्ने एउटा मञ्च भएको बताउनुभयो ।

नेपाल भाषा आयोगका प्रमुख डा.गोपाल ठाकुरले पनि आदिवासी जनजातिको संरक्षणका लागि सूचना तथा प्रविधि, मेसिन लर्निङ र मेसिन ट्रान्सलेसन भाषाको भूमिकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशमा बोलिने सबै भाषाहरू संवैधानिक रूपमा राष्ट्रिय भाषा हुन् । हामीले तिनीहरूलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्छ ।”

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संङ्गठन (युनेस्को)को सहयोग तथा प्रभु बैंकसँगको सहकार्यमा सो ह्याकाथन कार्यक्रम आयोजना गरिएको थियो । समापन समारोहमा विभिन्न क्षेत्रका अतिथि, विशेषज्ञ, प्राध्यापक, सहभागीलगायतको उपस्थिति रहेको थियो ।