संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताउनु भएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई वर्तमान संविधानले संरक्षण गरेको बताउनु भयो।

दशकौँ लामो संघर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले वर्तमान संविधान निर्माण गरेको चर्चा गर्दै उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘यो संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको छ। सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको छ। यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ।’

प्रधानमन्त्री ओलीले जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु नहुने बताउनु भएको छ।

‘यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा हाम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ। सबै दिदीबहिनी, दाजुभाइमा संविधान दिवसको शुभकामना!’