धरहरा निःशुल्क चढ्न पाइने, अनलाइन टिकट भोलिदेखि मात्रै

काठमाण्डौ । आजदेखि धरहरा सञ्चालन हुने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार धरहरा चढ्न तत्काल शुल्क तिर्नुपर्ने छैन । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म अहिलेलाई निःशुल्क गरिएको इकाइले जनाएको छ ।

इकाइले निःशुल्क प्रवेश गर्ने अनलाइन टिकटका लागि वेबसाइट बनाइरहेको छ । dharhara.gov.np मार्फत धरहरा चढ्ने अनलाइन टिकट बुक गर्न सकिनेछ । तर यो वेबसाइट बन्न बाँकी भएकाले आजका लागि धरहरा छेउको आकाशे पुलमुनि रहने काउन्टरबाट टिकट लिने व्यवस्था मिलाइएको इकाइका आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलिदेखि वेबसाइटबाटै टिकट बुक गर्न सकिने गरी तयारी भइरहेको छ । एक दिनमा बढीमा पाँच सय जनाले निःशुल्क धहरार चढ्न पाउने इकाइका आयोजना निर्देशक अधिकारीले जानकारी दिनुभयो । त्यसबाहेक थप एक सय जना वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्तिहरू चढन् पाउनेछन् । अधिकारीका अनुसार एक पटकमा आठदेखि १० जनासम्मले पालैपालो धरहरा चढ्न पाउने व्यवस्था मिलाइएको छ । धरहराको माथि बार्दलीबाट बढीमा १० मिनेटसम्म अवलोकन गर्न पाइनेछ ।

गएको भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । यसैअनुसार शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले आज बिहान साढे १० बजेदेखि धरहरा सञ्चालन गर्ने तयारी गरेको हो ।

वनिर्मित आधुनिक धरहरा बनाउने काम भने अझै सकिएको छैन । आजदेखि मुख्य संरचनाहरू मात्र सञ्चालनमा ल्याउन लागिएको हो । आधुनिक धरहरा पुरानोभन्दा फराकिलो छ । बाहिरबाट हेर्दा ११ तलाको देखिने यसको भित्री संरचना २२ तलाको छ । माथि पुग्न दुई वटा लिफ्टका साथै सिँढीको पनि व्यवस्था गरिएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा बगैँचा, सङ्ग्रहालय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल पनि क्रमशः सञ्चालनमा ल्याउने तयारी छ ।

२०७२ सालको विनाशकारी भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुला रूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षअघि नै निर्माणाधीन अवस्थामै धरहराको उद्घाटन गर्नुभएको थियो ।