संविधानमार्फत सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध भएको पूर्वराष्ट्रपतिको भनाई(पूर्ण पाठ सहित)

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको स्वतन्त्रता‚ सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको उल्लेख गर्दै यसले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्यका साथै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले लैङ्गिक समानता कायम गर्न राज्यका सबै निकायहरूमा महिला सहभागिता‚ हाम्रो सामाजिक एवं भौगोलिक विविधताको समावेशीकरण तथा मौलिक अधिकारहरूको प्रत्याभूतिबाट देशको संविधान आफैँमा ऐतिहासिक उपलब्धिका रूपमा रहेको उल्लेख गर्नुभएको छ ।

पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई शासनको मूल प्रवाहमा समाहित गर्न अवलम्बन गरिएको समावेशीकरणलाई लक्ष्यित वर्ग र समुदायमा अझै सशक्त रूपमा पुर्याउनु आवश्यक भएको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि देशको संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न तथा संविधानले सुनिश्चित गरेका मौलिक हक अधिकारहरूको कार्यान्वयन गर्दै राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नका लागि सुदृढ, सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु आवश्यक भएको बताउनुभएको छ ।

नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप जननिर्वाचित संविधानसभाद्वारा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न संविधान दिवस मनाइरहेको सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका विभिन्न आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिह शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्ण पाठ

सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को अवसरमा दिनु भएको शुभकामना सन्देश

नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको फलस्वरूप जननिर्वाचित संविधानसभाद्वारा वि।सं। २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस अवसरमा, म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा संविधान दिवस तथा राष्ट्रिय दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका विभिन्न आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
हाम्रो संविधानले नेपालको स्वतन्त्रता‚ सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न नेपाली जनतालाई अधिकारसम्पन्न बनाएको छ । वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । यसका साथै, लैङ्गिक समानता कायम गर्न राज्यका सबै निकायहरूमा महिला सहभागिता‚ हाम्रो सामाजिक एवं भौगोलिक विविधताको समावेशीकरण तथा मौलिक अधिकारहरूको प्रत्याभूतिबाट वर्तमान नेपालको संविधान आफैँमा ऐतिहासिक उपलब्धिका रूपमा रहेको छ । तथापि, पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई शासनको मूल प्रवाहमा समाहित गर्न अवलम्बन गरिएको समावेशीकरणलाई लक्षित वर्ग र समुदायमा अझै सशक्त रूपमा पुर्‍याउनु आवश्यक छ ।
सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि नेपालको संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न तथा संविधानले सुनिश्चित गरेका मौलिक हक अधिकारहरूको कार्यान्वयन गर्दै राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नका लागि सुदृढ, सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु आवश्यक छ । यसका लागि मुलुकमा उपलब्ध प्राकृतिक स्रोतको दिगो उपयोग तथा उर्जाशील युवाशक्तिसहित मानव संसाधनको सदुपयोग गरी अपार सम्भावना भएको कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको विकास गर्नु पर्दछ ।
संविधानले व्यवस्था गरेका सुन्दर प्रावधानहरू र मूल्यमान्यताहरू स्वयम् कार्यान्वयन हुन सक्दैनन् । राजनीतिक दलहरूको दृढ सङ्कल्प, चुस्त, पारदर्शी र कामयावी कर्मचारीतन्त्र तथा जागरुक नागरिकको जिम्मेवारीपूर्ण भूमिकाबाट मात्रै ती प्रावधानहरूको कार्यान्वयन हुन सक्दछ । तसर्थ, संविधान कार्यान्वयनको समीक्षा गरी सकारात्मक पक्षलाई आत्मसात गर्दै कमीकमजोरीहरू सुधार गरेर अगाडि बढ्ने विषयमा राजनीतिक दलहरूका बिचमा समझदारी बनाइनु पर्दछ । संविधान दिवसले यस दिशामा लाग्न हामी सबैलाई अभिप्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८१ असोज ३ गते विहीबार ।