गोरखामा डेंगुबाट एकको मृत्यु

काठमाण्डौ । गोरखाामा डेंगुबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका ११ बरथोकका ४७ वर्षीया रामप्रसाद अर्याल भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

गत भदौ २७ गते जिल्ला अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ भएपछि केही दिनको गोरखा अस्पतालमा भर्ना भई सुधार नआएपछि थप उपचारका लागि भरतपुरको मेडिकल कलेजमा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

अहिले गोरखामा अत्यधिक मात्रामा डेंगु सङ्क्रमण देखिएको छ । साउन र भदौ तेस्रो सातासम्म आइपुग्दा ३७७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । झण्डै दुई महिनाको अवधिमा गोरखामा ३७७ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार साउन १ गतेदेखि भदौ महिनाको तेस्रो हप्तासम्म जिल्लाको गोरखा नगरपालिाकामा २६२ जना, पालुङटार नगरपालिकामा ४८ जना, आरुघाट गाउँपालिकामा ४७ जना, मिमसेन थापा गाउँपालिकामा १ जना, शहिदलखन गाउँपालिकामा १२ जना, अजिरकोट गाउँपालिकामा २ जना, बारपाक सुलिकोट ३ जना र गण्डकी गाउँपालिकामा २ जनामा डेंगु सङ्क्रमण देखिएको उहाँको भनाइ छ ।

त्यस्तैगरी डेढ महिनामा गोरखामा २०७ जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको छ । जसमा गोरखा नगरपालिकामा ९१ जना, आरुघाट गाउँपालिकामाम ७३ जना, पालुङटार नगरपालिकामा २९ जना, सिरानचोक गाउँपालिकामा ८ जना, भीमसेन थापा गाउँपालिकामा ३ जना र शहिद लखन गाउँपालिकामा ३ जना स्क्रब टाइफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताउनुभयो ।

डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीरमा बिबिरा आउने, मांसपेशी दुख्ने, टाउको धेरै दुख्ने, रक्तस्राब हुने, शरीर कटकटी दुख्ने तथा ज्वरो आउने लक्षण देखा पर्छन् । गोरखाका ९४ वटा वडाले लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न साथै डेंगु रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न जिल्ला स्वास्थ्य कार्यालय गोरखाले ११ वटै स्थानीय तहलाई अपिल गरेको छ ।