आज एकसाथ मनाइँदै : जनैपूर्णिमा र गाईजात्रा

काठमाण्डौ । आज जनैपूर्णिमा र गाईजात्रा पर्व एकसाथ मनाइँदैछ । यस वर्ष तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा आज एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन सनातन हिन्दू धर्मावलम्बीहरुले जनै फेर्ने तथा रक्षा बन्धन गरी यो पर्व मनाउँदै छन् ।आज तागाधारी समुदायले यज्ञोपवित धारण गर्ने चलन छ ।
आज विहानै नदी, ताल, तलाउ, पोखरीमा गई गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने र गुरु पुरोहितबाट नयाँ जनै लगाउने तथा हातमा रक्षाबन्धन बाँध्ने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै तथा रक्षा बन्धन धारण गर्ने गरिन्छ । जनै तथा रक्षाबन्धन धारण गर्दा नकारात्मक तत्वबाट मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ । जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भन्ने गरिन्छ । विभिन्न तीर्थ तथा मन्दिरहरुमा आज विहानैदेखि नयाँ जनै फेर्न तथा रक्षा बन्धन गर्नेहरुको भीड लागेको छ ।

विशेष गरी ललितपुरको कुम्भेश्वर, पशुपतिनाथ र देशका अन्य मठमन्दिर तथा नदीको किनारका तीर्थस्थलमा भक्तजनको भिड लाग्ने गर्दछ ।

यो पर्व तिथिमा आएको गडबडीका कारण जनै पूर्णिमाको भोलिपल्ट मनाईने गाइजात्रा पनि आजै मनाउनु पर्ने पंचाङ्ग निर्णायक समितिले जनाएको छ । आजको दिन रक्षा बन्धन गरिसकेपछि विभिन्न किसिमका गेडागुडीहरुको मिश्रण क्वाँटी खाने चलन पनि छ । चना, केराउ, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्लालगायत गेडागुडी  भिजाएर टुसा उम्रेपछि पकाएर खाइने क्वाँटीले शरीरमा शक्ति मिल्ने डाक्टरले बताउँदै आएका छन् । आजै प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा पर्व पनि मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिषी पण्डित सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजको दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

विशेषगरी काठमाण्डौ उपत्यका र देशभरका नेवार समुदायले आज वर्षभरि दिवंगत भएका आफन्तजनको सम्झनामा गाईजात्रा निकाल्ने गर्दछन् । उपत्यकाबाहिर बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ यो पर्व मनाइन्छ ।

तराइ क्षेत्रमा भने आज रक्षा बन्धनसंगै राखी बाँध्ने चलन पनि छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने चलन रहेको छ ।