गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ ग्रहण सम्पन्न

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्षपद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । नवनियुक्त मन्त्रीद्वयले आजै पदबहाली गर्दैहुनुहुन्छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारी लगायतको उपस्थिति थियो ।

उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ, पूर्वाधार विका मन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री तथा नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको उपस्थिति रहेको थियो ।

उक्त विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विभिन्न राजनीतिक दलका नेता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल सरकारका सचिव र उच्च अधिकारी, प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल, नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागको महानिरीक्षक टेकेन्द्र कार्की लगायतको उपस्थिति थियो ।