सामुदायिक क्याम्पसका जनशक्तिको सशक्तीकरण र व्यवस्थापनबारे राष्ट्रिय सम्मेलन हुँदै
काठमाण्डौ । नेपाल पब्लिक क्याम्पस संघले सामुदायिक क्याम्पसहरूको जनशक्तिको पेशागत पहिचान, सशक्तीकरण तथा व्यवस्थापनलाई केन्द्रमा राख्दै प्रथम राष्ट्रिय सम्मेलन–२०८३ आयोजना गर्ने भएको छ।
संघको आयोजना, विश्वविद्यालय अनुदान आयोग (यूजीसी) नेपालको सहयोग तथा देशभरका विभिन्न सामुदायिक क्याम्पसहरूको सहआयोजनामा “सामुदायिक क्याम्पसका जनशक्तिको पेशागत पहिचान, सशक्तीकरण र व्यवस्थापनः दिगो उच्च शिक्षाको आधार” विषयक दुई दिने राष्ट्रिय सम्मेलन यहि जेठ ३० र ३१ गते ललितपुरस्थित सिद्धार्थ कटेज, धोबीघाटमा सञ्चालन हुनेछ ।
प्रचारप्रसार समिति संयोजक डा. बाबुराम अधिकारीका अनुसार सम्मेलनको उद्देश्य सामुदायिक क्याम्पसका जनशक्तिको पेशागत पहिचान, पदसोपान, समकक्षता, वृत्ति विकास, गुणस्तर सुनिश्चितता, अनुसन्धान संस्कृति तथा उच्च शिक्षाको दिगोपनासम्बन्धी नीतिगत बहसलाई राष्ट्रिय बहसको रूपमा अघि बढाउनु हो ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिहरू प्रा. केदार भक्त माथेमा, प्रा. तिर्थराज खनिया, प्रा. दिपक अर्याल, विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा. देवराज अधिकारी, प्राध्यापक डा. विद्यानाथ कोइराला, त्रिविका डीनहरू, शिक्षा मन्त्रालयका प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी, सामुदायिक क्याम्पसका अध्यक्ष, क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ।
संघले सम्मेलनबाट सामुदायिक क्याम्पसहरूको वर्तमान अवस्था, चुनौती, अवसर र भावी मार्गचित्रबारे महत्वपूर्ण विचार विमर्श हुने र त्यसबाट नीतिगत सुझाव तथा निष्कर्षहरू सार्वजनिक गरिने भएको छ ।
सम्मेलनले सामुदायिक क्याम्पसहरूको गुणस्तर सुधार, अनुसन्धान प्रवर्द्धन तथा दिगो उच्च शिक्षा प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

