एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोजमा
काठमाण्डौ । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज ८ गतेदेखि १७ गतेसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रaहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ ।
सहभागी फ्रेन्चाइज टोली तथा सरोकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ। दुवै संस्करणको उपाधि कर्णाली यशविसले जितेको थियो । यस पटकको प्रतियोगितामा पहिलो र दोश्रो संस्करणको विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाण्डौ स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
लिगको पहिलो संस्करण काठमाण्डौमा र दोस्रो संस्करण पोखरामा आयोजना गरिएको थियो । एशियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यावसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ ।
एभरेष्ट महिला भलिबल लिगका प्राविधिक निर्देशक जगदिश भट्टले तेस्रो संस्करण भव्य हुने बताउनुभयो । राष्ट्रिय खलेकुद परिषद्को कभर्डहलमा स्तरोन्नतीपछि काभा महिला भलिबल प्रतियोगितादेखि राष्ट्रिय स्तरका अन्य प्रतियोगिताहरु पनि आयोजना भइसकेको र यस पटक काठमाण्डौमै लिग आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

