भूपू गोर्खाहरुको पेन्सन विवाद समाधान गर्न परराष्ट्रमन्त्रीको बेलायतसँग आग्रह
काठमाण्डौ । लामो समयदेखि समाधान हुन नसकेको भूतपूर्व ब्रिटिश गोर्खाहरूको समानुपातिक पेन्सन लगायतका मागलाई न्याय, निष्पक्षता र सम्मानका आधारमा सम्बोधन गर्न परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अधिराज्य (बेलायत) सरकारसँग आग्रह गर्नुभएको छ ।
परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री माननीय जोन हिली तथा भेटेरन (भूतपूर्व सैनिक) तथा जनमन्त्री माननीय लुइस स्यान्डर–जोन्सबिच सोमबार सम्पन्न भर्चुअल बैठकमा सो कुरा उठाइएको हो ।
उक्त द्विपक्षीय बैठक मुख्य रूपमा भूतपूर्व ब्रिटिश गोर्खाको लामो समयदेखि थाती रहेका मागहरू र विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित रहेको परराष्ट्रमन्त्री खनालले जानकारी दिनुभयो ।
नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धमा गोर्खाले पुर्याएको विशिष्ट र महत्त्वपूर्ण योगदानलाई मध्यनजर गर्दै मन्त्री खनालले बेलायत सरकारसमक्ष यी मुद्दाहरूलाई चाँडोभन्दा चाँडो पारस्परिक सहमतिका आधारमा टुङ्गोमा पुर्याउन र आवश्यक पहल कदमी लिन जोड दिनुभएको छ ।

