भारतको इन्दौरमा इभी कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु
भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा विद्युत शर्ट हुँदा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको छ । बुधबार बिहानै भएको घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।
इन्दौरको बंगाली चौराहनजिकै रहेको कोलोनीमा बिहान ४ बजे घटना भएको हो । घटनाका बेला अधिकांश मानिसहरू आ–आफ्नो घरमा सुतिरहेका थिए ।
भारतीय सञ्चार माध्यमहरुले इन्दौरका पुलिस कमिशनर सन्तोषकुमार सिंहलाई उद्धृत गर्दै घर बाहिर चार्जिङमा राखिएको इलेक्ट्रिक कारबाट आगो सल्किन सुरू भएको बताएका छन् । प्रारम्भिक जाँचका क्रममा बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा शर्ट सर्किट हुँदा कारमा आगो लागेको थियो जुन आगो केही मिनेटमै घर भित्र फैलियो । घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएकाले झनै भयावह अवस्था निम्तिन पुग्यो ।
घरभित्र राखिएका ग्यास सिलिन्डरहरू आगोका कारण एकपछि अर्को गरी विष्फोट भएका थिए । घरको ढोकामा जडान गरिएका इलेक्ट्रोनिक लकहरू उद्धार कार्यमा सबैभन्दा ठुलो बाधक बनेको थिए । अधिकारीहरूका अनुसार आगलागीका कारण विद्युत् आपूर्ति बन्द भएपछि ती लकहरू खुल्न सकेनन्, जसले गर्दा मानिसहरू भित्रै थुनिएका थिए । प्रहरी कमिश्नर सिंहले भनेका छन्, घरभित्र रहेका मानिसहरू बाहिर निस्कन खोजेका थिए, तर इलेक्ट्रोनिक लक नखुलेका कारण उनीहरू भित्रै फसेको देखिन्छ ।
आगलागीको समयमा घरभित्र करिब १० जना मानिस रहेको बताइएको छ । वारुणयन्त्र र आपत्कालीन टोलीले छिमेकी भवनबाट भित्र पसेर उद्धार सुरु गरेका थिए । उद्धार टोलीले सुरुमा तीन जनालाई सुरक्षित बाहिर निकाल्न सफल भए पनि अन्य धेरै जना सुत्ने कोठामा फसेका थिए ।
महात्मा गान्धी मेमोरियल मेडिकल कलेजका डीन डा. अरविन्द घन्घोरियाले अस्पताल ल्याइएका सातै जनाको मृत्यु धुवाँका कारण निसास्सिएर भएको पुष्टि गरेका छन् । आगलागीमा परेर तीन जना घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । थप एक बच्चा हराइरहेको रिपोर्ट आएको र खोजी कार्य जारी रहेको एसीपी कुन्दन मण्डलोईले बताएका छन् ।
यस घटनापछि आवासीय क्षेत्रमा ईभी चार्जिङ प्वाइन्टहरूको सुरक्षालाई लिएर ठुलो बहस सुरु भएको छ । राज्य मन्त्री कैलाश विजयवर्गीयले घटनास्थलको भ्रमण गर्दै यस घटनालाई ईभी युगका लागि एक डरलाग्दो चेतावनी भनेका छन् । उनले प्रहरी कमिश्नरलाई ईभी चार्जिङका लागि स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) तयार गर्न एक विशेषज्ञ समिति गठन गर्न निर्देशन दिएको बताइएको छ ।

