इरानमा अझै पनि आक्रमण गर्न बाँकी छ : इजरायल

एजेन्सी । इजरायलले इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको बताएको छ । इजरायलले पश्चिमी र मध्य इरानका क्षेत्रहरू समेट्दै आक्रमणहरू विस्तार गरेपछि इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले इरानमा अझै पनि हजारौँ लक्ष्यहरूमाथि प्रहार गर्न बाँकी रहेको बताएका बीबीसीले जनाएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले इरानी पूर्वाधारहरूलाई कमजोर पार्ने लक्ष्य राखेको बताएको छ । यस्तै इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी) र बासिज फोर्ससँग सम्बन्धित धेरै प्रमुख मुख्यालयहरूमा आक्रमण गरेको आईडीएफको भनाइ छ ।

यसैबीच ट्रम्प र बेलायती प्रधानमन्त्री केअर स्टार्मरले ‘स्ट्रेट अफ हर्जुज’ का बारेमा छलफल गर्नुभएको छ । ट्रम्प र स्टार्मरले फोनवार्तामा मध्यपूर्वमा चलिरहेको अवस्था र विश्वव्यापी ढुवानीमा अवरोध अन्त्य गर्न हर्मुज मार्ग पुनः खोल्नेबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ ।

यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले यदि युरोपेली देशहरूले ‘स्ट्रेट अफ हर्मुज’ खोल्न मद्दत नगरेमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को भविष्यका लागि यो निकै नराम्रो हुने बताउनुभएको छ ।

बेलायती दैनिक पत्रिका ‘फाइनान्सियल टाइम्स’ लाई दिनुभएको अन्तर्वार्तामा ट्रम्पले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आउँदो भेटवार्ताअघि चीनले हर्मुज समुद्री मार्ग खोल्न मद्दत गर्ने आशा पनि व्यक्त गर्नुभएको छ । यो बैठक मार्चको अन्त्यमा बेइजिङमा हुने तय भएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले नेटो र युरोपेली सहयोगीहरूको बारेमा बोल्दै हर्मुजबाट लाभ लिइरहेका देशहरूले यसलाई पुनः खोल्न मद्दत गर्नु उपयुक्त हुने बताउनुभयो ।