रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने अमेरिकाको घोषणा
एजेन्सी। अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने घोषणा गरेको छ ।
अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका ३२ सदस्य राष्ट्रहरूले ऊर्जाको मूल्य घटाउन आ–आफ्नो भण्डारबाट कूल ४० करोड ब्यारेल तेल र प्रशोधित उत्पादनहरू सामूहिक रूपमा निकाल्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा सर्वसम्मतिले सहमति जनाएका बताउनुभएको हो ।
मन्त्री राइटले यसै प्रयासको हिस्सास्वरूप राष्ट्रपति ट्रम्पले आगामी हप्तादेखि ऊर्जा विभागलाई रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ९ हजार (१७२ मिलियन) ब्यारेल तेल निकाल्न अनुमति दिनुभएको छ । योजनावद्ध निष्कासन दरका आधारमा यो आपूर्ति पूरा हुन करिब २ सय २० दिन लाग्नेछ ।
अमेरिकाले आगामी एक वर्षभित्र यी रणनीतिक भण्डारहरूमा करिब २० करोड ब्यारेल तेल पुनः प्रतिस्थापन गर्ने व्यवस्था मिलाएको समेत जनाएको हो ।

