महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
म्याग्दी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले आफ्नो निर्वाचन अभियानमा २८ लाख रुपैयाँभन्दा बढी खर्च गर्नुभएको छ। हिजो निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उहाँले कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ।
विवरणअनुसार मनोनयन दर्ता शुल्कका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ र नमुना मतपत्र सामग्री छपाइका लागि २ लाख ९० हजार ५९५ रुपैयाँ खर्च भएको छ। त्यस्तै प्रचारप्रसारका क्रममा यातायात तथा इन्धनमा ६ लाख ६० हजार ९९८ रुपैयाँ खर्च गरिएको छ।
यसका अतिरिक्त चालक ज्यालामा १ लाख ४० हजार रुपैयाँ, होटेलमा बास तथा खानामा १३ लाख ७ हजार ६१९ रुपैयाँ, डिजेलमा ३ लाख ६० हजार ४९९ रुपैयाँ, स्टेशनरीमा २५ हजार ३०० रुपैयाँ र विविध खर्च शीर्षकमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको जनाइएको छ।
निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको चुनावी खर्च पारदर्शी बनाउन यस्तो विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।

