देशका विभिन्न जिल्लामा वर्षा, उदयपुर र गोरखामा सबैभन्दा बढी पानी
काठमाण्डौ । आज दिउँसो देशका विभिन्न जिल्लामा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन, गोरखा र उदयपुरमा उल्लेख्य वर्षा मापन गरिएको छ। उदयपुरमा ८२.२ मिलिमिटर, गोरखामा ८० मिलिमिटर र चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाएको छ।
उदयपुरको कटारी र गोरखाको बारपाक क्षेत्रमा सबैभन्दा धेरै पानी परेको छ। यसबाहेक लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया र कास्की लगायतका जिल्लामा पनि वर्षा भएको महाशाखाले जनाएको छ। प्रदूषण बढिरहेको समयमा परेको यो वर्षाले वातावरण सफा बनाउन केही राहत मिल्ने मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताएका छन्।
आज राति कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी प्रदेशका केही स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि यस्तै प्रकारको मौसम हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

