मध्यपूर्वका ट्रान्जिटमा रहेका नेपालीको उद्धारका लागि हरेक नियोगलाई १० लाख माग

काठमाण्डौ । परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा ‘ट्रान्जिट’मा रहेका नेपाली नागरिकको उद्धारका लागि त्यहाँ रहेका हरेक नेपाली नियोगलाई १०र१० लाख रुपैयाँ उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।

मन्त्रालयले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले तत्कालका लागि प्रत्येक नियोगका लागि १० लाख रुपैयाँ बजेट माग गरिएको जानकारी दिए। उनका अनुसार उक्त रकम ट्रान्जिटमा रहेका नेपालीको उद्धार तथा अन्य अत्यावश्यक कार्यका लागि प्रयोग गरिनेछ।

मध्यपूर्व तथा खाडी क्षेत्रमा नेपाली नियोग युएईको अबुधाबी र दुबई, साउदी अरेबियाको रियाद र जेद्दा, कुवेत, बहराइन, ओमान, कतार, इजिप्ट र इजरायलमा रहेका छन्।

अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व मध्यपूर्वभर फैलिने आशंका बढेसँगै त्यहाँ रहेका करिब १७ लाख २९ हजार नेपाली त्रासमा रहेका बताइएको छ। तीमध्ये करिब पाँच हजार नेपालीले आफूहरू असुरक्षित रहेको जानकारी दिएका छन्।