इरानको आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

काठमाण्डौ । सरकारले इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरेको छ । आज परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर कानूनी प्रक्रिया पूरा गरी मृतक श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरेकोे जानकारी गराएको हो ।

कार्यक्रममा बोल्दै मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले श्रेष्ठको परिवारलाई आवश्यक क्षतिपूर्ति दिने प्रक्रिया समेत शुरू भइसकेको जानकारी दिनुभयो । उहाँले मध्यपूर्वमा बढ्दो तनावबारे परराष्ट्र मन्त्रालय, विदेशस्थित नेपाली नियोग तथा राजदुतावासहरुमार्फत जानकारी एवम् ट्राभल एड्भाइजरी जारी गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

यूएईमा सुरक्षा गार्डको रूपमा कार्यरत रहँदा ज्यान गुमाएका श्रेष्ठ गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङ थान्तीका बासिन्दा हुनुहुन्थ्यो । महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको जानकारी गराउँदै उहाँहरुको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।