समानुपातिकतर्फको मतगणना सकियो, रास्वपाले ५७ सिट थप्ने निश्चित
काठमाण्डौ । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएको छ । यस अनुसार रास्वपाले समानुपातिकबाट ५७ सिट थप्ने निश्चित भएको छ ।
यसैगरी प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाख ४९ हजार ५८३ मत पाएको छ । यस अनुसार कांग्रेसले समानुपातिकबाट २० सिट थप्ने सम्भावना छ ।
प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट १४ लाख ५१ ह्जार ७५९ मत पाएको छ । यस अनुसार नेकपा एमालेले १६ सिट थप्ने निश्चित भएको छ ।
प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत पाएको छ । यसअनुसार नेपाल कम्युनिस्ट पार्टीले थप ९ सिट थप्ने छ ।
चार महिना अघि खुले पनि प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकबाट थप ४ सिट पाउने निश्चित भएको छ । उसले समानुपातिकमा ३ लाख ८५ हजार ६ सय ८२ मत पाएको छ ।
प्रत्यक्षमा एक सिट जितेको राप्रपाले पनि समानुपातिकबाट करिब ४ सिट पाउने सम्भावना छ । राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ भोट पाएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी घिमिरेका अनुसार अब दलहरूले कति मत पाए भनेर त्यसको सिट बाँडफाँटको काम अगाडि बढ्नेछ ।
‘अब दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ । सिट तय भएपछि त्यसआधारमा सम्बन्धित दलहरूलाई तीन दिन भित्र समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न पत्र लेखिनेछ’ सूचना अधिकारी घिमिरेले भन्नुभयो ।
दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुन: हेर्दछ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले नै ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।

