शेयर बजारमा साढे २१ अर्बको कारोबार, नेप्से ३२ अङ्कले घट्यो

काठमाण्डौ ।  हिजो लगातार बढेर तीन वटा सर्किट ब्रेक लागेको शेयर बजार आज भने उच्च अङ्कले घटेको छ । चुनाव पछि खुलेको बजार एकै दलको सरकार बन्ने खबरले उत्साहित हुँदा बजारको वृद्धि रोक्न सर्किट ब्रेक नै लगाउनु परेको थियो ।

हिजो नेप्से ६ प्रतिशत अर्थात् १६२ अङ्कले बढेको थियो । आज शेयर बजार परिसूचक नेप्से ३२.८ अङ्कले घटेर २८४३.३५ विन्दुमा झरेको छ । विमा र म्युचुअल फण्ड बाहेक सबै समूहको शेयर घट्दा फाइनान्स र व्यापार समूहमा दुई प्रतिशतभन्दा धेरैले घट्यो ।

हिमस्टार उर्जा कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले घट्यो । समग्रमा बजार घटेको दिन रियलाइन्स स्पिनिङ मिल र साल्पा विकास बैंकको शेयरमा भने सकरात्मक सर्किट लागेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।

हिजो साढे ५५ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका ५ करोड २७ लाख कित्ता शेयर साढे २१ अर्ब रुपैयाँमा किनबेच भएको छ । यो साढे सात महिनाकै उच्च कारोवार हो । यसअघि गएको साउन ११ गते २६ अर्ब ५७ करोड रूपैयाँको शेयर किनबेच भएको थियो । त्यसयता पहिलो पटक कारोबार २१ अर्ब रूपैयाँ नाघेको हो ।