यसपालि ६ वटा दलले राष्ट्रिय मान्यता पाउने

काठमाण्डौ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रको परिणाम घोषणा गरिसकेको छ । समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतको अनुपातका आधारमा अब नयाँ प्रतिनिधिसभामा दलको अवस्था कस्तो हुन्छ भन्ने सङ्केत स्पष्ट भइसकेको छ ।

प्रत्यक्षतर्फ १ सय २५ सीट पाएको रास्वपाले समानुपातिकमा ५० लाख भन्दा धेरै मत पाएको छ । प्रत्यक्षमा १८ सीट पाएर दोस्रो बनेको कांग्रेसले समानुपातिकमा पनि दोस्रो स्थानमा रहँदै १७ लाख भन्दा धेरै मत पाएको छ ।

प्रत्यक्षमा नौ सीटसहित तेस्रो रहेको एमालेले समानुपातिकमा १४ लाख भन्दा धेरै मत पाएको छ । प्रत्यक्षमा चौथो भएको नेकपा, पाँचौं भएको श्रमशक्ति र एक सीटसहित छैटौं बनेको राप्रपाले पनि समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन् ।

यसैले अब यी ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाउने भएका हुन् । विगतमा राष्ट्रिय दल रहेका जसपा–नेपाल र जनमत पार्टीले यसपटक प्रत्यक्षतर्फ कुनै सीट जित्न सकेनन् भने समानुपातिकमा पनि थ्रेस होल्ड पार गर्ने सम्भावना सकिएको छ ।

राष्ट्रिय दलले अर्को चुनावसम्मका लागि आफ्नो चुनाव चिह्न सुरक्षित गर्न पाउने कानूनी व्यवस्था छ । तर राष्ट्रिय दल नभए पनि दुई जनाभन्दा धेरै सांसद भएका दलहरूलाई संसदीय दलको कार्यालयसहितका सुविधा उपलब्ध गराउने अभ्यास छ । राष्ट्रिय दल नभए पनि आफ्ना सांसदहरूलाई पार्टीले दलको ह्विप लगाउन सक्छ ।