चुनावपछि शेयर बजारमा सकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार रोकियो
काठमाण्डौ । तेस्रो पटक सकारात्मक सर्किट लागेसँगै आजको शेयर कारोबार रोकिएको छ । चुनावपछि खुलेको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा तेस्रो पटक सकारात्मक सर्किट लागेको हो ।
बिहीबार भएको चुनावमा रास्वपाले दुईतिहाइ नजिक मत पाएपछि स्थिर सरकारको आशामा लगानीकर्ता आकर्षित भएका हुन् ।
आज शेयर बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको थियो । २० मिनेट बजार बन्द भएर खुलेको १ मिनेटमै बजार थप १ प्रतिशतले बढ्यो । यो अवधिमा कुल ५ प्रतिशतले बढेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । ४० मिनेट रोकिएर खुलेको शेयर बजार थप १ प्रतिशत बढेर कुल ६ प्रतिशतको वृद्धिपछि सर्किट लागेर आजको कारोबार नै रोकिएको हो ।
नेप्से आज १६२ दशमलव ९३ अङ्कले बढेर २ हजार ८७५ दशमलव ४३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर सबैभन्दा धेरै ७ दशमलव ७३ प्रतिशतले उकालो लागेको छ ।
आज कर्पोरेट विकास बैंक, शिवश्री हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन आज रिलाइन्स स्पिनिङ मिल्स कम्पनीको १ दशमलव ४९ प्रतिशतले घटेको छ । आज यो कम्पनीको मात्रै शेयर घटेको हो ।

