प्रतिनिधिसभा निर्वाचन मतगणना अन्तिम चरणमा :समानुपातिकमा पनि रास्वपाको वर्चस्व कायमै

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
मतगणना अन्तिम चरणमा पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्व कायमै रहेको हो। निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार हालसम्म कूल ८५ लाख ९३ हजार ४ सय ४० मत गणना भइसकेको छ । जसमा नयाँ उदाएको रास्वपाले पुराना र स्थापित दलहरूलाई निकै पछाडि छोड्दै ऐतिहासिक वर्चस्व कायम गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कूल गणना गरिएको मतको करिब आधा हिस्सा अर्थात् ४८ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी सबै भन्दा ठूलो दल बन्ने निश्चित गरेको छ । घण्टी चुनाव चिन्हमा हालसम्म ४१ लाख ५१ हजार २५७ मत प्राप्त गरेको छ । जुन नेपाली निर्वाचन इतिहासमा समानुपातिकतर्फ कुनै पनि दलले पाएको निकै ठूलो जनमत हो ।

परम्परागत शक्ति मानिने नेपाली कांग्रेस र नेकपा एमालेको मत परिणाम भने यस पटक निकै खुम्चिएको पाइएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले जम्मा १६ दशमलव१७ प्रतिशत अर्थात् १३ लाख ८९ हजार ९ सय ६६ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको एमालेले १३ दशमलव ६६ प्रतिशतका साथ ११ लाख ७३ हजार ५ सय ६१ मत मात्रै जोड्न सफल भएको हो ।

अन्य दलहरूको प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टीले ७ दशमलव ९ प्रतिशत मतका साथ ६ लाख ९ हजार २०८ मत प्राप्त गरेको छ । नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ दशमलव ५० प्रतिशत अर्थात् ३ लाख १ हजार १ सय २९ मत प्राप्त गर्दै राष्ट्रिय दलको मान्यता थ्रेसहोल्ड पार गर्ने देखिएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ दशमलव २८ प्रतिशतका साथ २ लाख ८२ हजार ५५ मत प्राप्त गरी छैठौं स्थानमा रहेको आयोगले जनाएको हो ।