चार वर्षमा पहिलो पटक तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुग्यो
एजेन्सी । सन् २०२२ पछि पहिलो पटक विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
इरानसँगको बढ्दो अमेरिका–इजरायल युद्धले हर्मुज मार्गबाट ढुवानीमा लामो समयसम्म अवरोध आउने डर बढेपछि चार वर्षमा पहिलो पटक तेलको मूल्य १०० डलरभन्दा माथि पुगेको बीबीसीले जनाएको छ ।
गएको हप्ता अमेरिका र इजरायलले तेल डिपोहरूलाई लक्षित गर्दै इरानभरि नयाँ हवाई आक्रमण शुरू गरेका थिए । यस क्षेत्रबाट ऊर्जा आपूर्तिमा ठूलो अवरोध आउँदा विश्वभरका उपभोक्ता र व्यवसायहरूका लागि मूल्य बढ्ने खतरा छ ।
सोमवारको शुरुआतमा एशियामा ब्रेन्ट क्रुड तेलको मूल्य झन्डै १५ दशमलव ५ प्रतिशतले बढेर १०७ दशमलव १६ डलर र नायमेक्स लाइट स्वीट तेलको मूल्य १७ प्रतिशतभन्दा धेरैले बढेर १०६ दशमलव ७७ डलर पुगेको थियो ।
हमुर्ज मार्गमा लामो समयसम्म अवरोध रहिरहे मार्च महिनाको अन्त्यसम्ममा तेलको मूल्य प्रतिब्यारेल १५० डलर पुग्न सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् ।
हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । हरेक दिन झन्डै २ करोड ब्यारेल तेल यही क्षेत्र हुँदै आपूर्ति हुने गर्दछ । यो क्षेत्र पर्सियन खाडी र ओमान खाडीको बीचमा रहेको छ ।

