काठमाण्डौ उपत्यकाका १५ वटै क्षेत्रमा रास्वपाको जीत
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाण्डौ उपत्यकामा क्लिनस्विप गरेको छ । काठमाण्डौका १० सहित ललितपुरका ३ र भक्तपुरका २ गरी १५ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन् । पछिल्लो नतिजाअनुसार ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल ३९ हजार ४ सय ९१ मतसहित विजयी हुनुभयो ।
काठमाण्डौ क्षेत्र नं १ मा रास्वपाकी रन्जु न्यौपाने (दर्शना), २ मा रास्वपाका सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, त्यसैगरी काठमाण्डौ क्षेत्र नं ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र काठमाण्डौको क्षेत्र नं १० मा (रास्वपा) कै प्रदीप विष्ट निर्वाचित हुनुभयो ।
त्यस्तै ललितपुर–१ बाट रास्वपाका बुद्धरत्न महर्जन, ललितपुर–२ बाट जगदीश खरेल, ललितपुर–३ बाट रास्वपाकी डा।तोसिमा कार्की विजयी हुनुभएको हो । यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकट क्षेत्र मानिने भक्तपुर १ र २ मा रास्वपाका उम्मेदवार विजयी हुँदा नेमकिपाले पुरानो विराशत जोगाउन सकेन ।
त्यस्तै, काभ्रेपलाञ्चोक–१ बाट रास्वपाका उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत ल्याउनुभयो । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दिननाथ गौतमले १४ हजार १८४ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अमी लामाले १३ हजार ८१४ मत प्राप्त गर्नुभयो ।
यसैगरी काभ्रेपलाञ्चोक–२ बाट रास्वपाका उमेदवार बदनकुमार भण्डारी ३५ हजार ४७६ मतान्तरले निर्वाचित हुनुभएको छ । भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याउनुभएको छ । त्यस्तै यस क्षेत्रमा एमालेका अशोक ब्याञ्जूले १३ हजार ९४० र नेकपाका बसुन्धरा हुमागाईंले ८ हजार १०७ मत प्राप्त गर्नुभयो ।
काभ्रेपलाञ्चोकको दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १० हजार ३९ मत बदर भएको छ । तीन लाख २६ हजार ६११ मतदाता रहेकामा ५९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी, पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार फराकिलो मतान्तरले निर्वाचित हुनुभएको छ ।
निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ मत बढी प्राप्त गर्नुभएको हो ।
निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुशीलकुमार कानुले ३० हजार ७४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार ८९० मत ल्याउनुभएको छ ।
निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका रामाकान्त चौरसिया २९ हजार ६७९ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत ल्याउनुभयो ।
क्षेत्र नं ४ मा रास्वपाका टेकबहादुर शाक्यले २८ हजार छ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५३३ मत प्राप्त गर्नुभयो ।

