इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।

नेम्बाङ २२ हजार ४ सय २६ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गर्नुभयो ।

यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८ सय १४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय २० मतान्तरले पराजित गर्नुभएको थियो । नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।

आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग २ हजार १ सय २ मतले पराजित हुनुभएको थियो ।

यही फागुन २१ गते भएको निर्वाचनमा यो क्षेत्रमा कुल १ लाख १९ हजार ४ सय ८९ मतदातामध्ये ६७ हजार ६ सय ६४ मत खसेको थियो । यहाँ ३ हजार ८ सय ८३ मत बदर भएको छ । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।