काठमाडौं-१० मा कांग्रेसको ‘ह्याट्रिक’ ब्रेक गर्ने एमालेको दाउ, ‘हेभीवेट’ नेता बिनोद श्रेष्ठ चुनावी मैदानमा ​

काठमाण्डौ ।  नेपाली कांग्रेसको बलियो गढ मानिने काठमाडौं क्षेत्र नम्बर १० मा नेकपा एमालेका तर्फबाट प्रभावशाली नेता बिनोद श्रेष्ठले उम्मेदवारी दर्ता गराएसँगै चुनावी माहोल तातेको छ।

२०६४ सालदेखि लगातार तीन पटक चुनाव जितेर ‘ह्याट्रिक’ गरेका कांग्रेसका राजन केसीको विरासत भत्काउन एमालेले आफ्नो ‘रणनीतिक कार्ड’ का रूपमा जिफन्ट अध्यक्ष श्रेष्ठलाई अघि सारेको हो।

​आज दिउँसो कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा र सयौं कार्यकर्ताको लावालस्करसहित पुग्नुभएको श्रेष्ठले उम्मेदवारी दर्ता गर्दै भन्नुभयो, “यो पटक काठमाडौं-१० ले परिवर्तन खोजेको छ। पुरानो विरासत अब तोडिनेछ।” ​

No description available.

चन्द्रागिरी-४ थानकोटका स्थायी बासिन्दा रहनुभएका श्रेष्ठले २०७२ सालमा संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा भूमिका खेलिसक्नु भएको छ । करिब ७० हजार मतदाता रहेको यस क्षेत्रमा दक्षिणकाली, चन्द्रागिरी र कीर्तिपुर जस्ता महत्त्वपूर्ण नगरपालिकाहरू पर्छन्।

कांग्रेसको परम्परागत मतलाई काट्न र न्युट्रल भोट तान्न एमालेले स्थानीय र अनुभवी नेतालाई मैदानमा उतारेको विश्लेषण गरिएको छ । दक्षिणी काठमाडौंको नाम दिँदै आएको क्षेत्र नम्बर १० को विकास निर्मणप्रति मतदाताले असन्तुष्ट पोख्दै आएका छन् ।