विद्यालय शिक्षा विधेयक छलफलसहित पारित गराउन प्रतिवद्ध छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेका छन् ।

आजदेखि सुरू विद्यार्थी भर्ना अभियानको शुभकामना उनले अभियान सफल बनाउन अभिभावक तथा सरोकारवालाको ठूलो भूमिका रहेको बताए ।

प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्य हासिल गर्न विद्यालय शिक्षा साधारण प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनाका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रुपमा विकास गरी शिक्षालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए ।

अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या २० प्रतिशत रहेको उल्लेख गर्दै ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘गरिबीलाई न्यूनीकरण नगरी राष्ट्रिय लक्ष्यमा पुग्न सक्दैनौँ । गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो । हाम्रा बालबालिकालाई अब पनि विद्यालयबाहिर राख्न सक्दैनौँ ।’

आधारभूत तहको खुद भर्नादरमा सुधार आएपनि विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्नेमा उनले जोड दिए । त्यसका लागि शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

‘अहिले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको छ,’ प्रधानमन्त्रीले भने ।

शिक्षामा भएको लगानी र स्रोत साधनको प्रभावकारी एवं रचनात्मक उपयोग गरी गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचारणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक रहेको भन्दै उनले भनेका छन्, ‘आफूसँग भएको विद्यालाई व्यवहारमा उतार्नु अहिलेको आवश्यकता हो । ज्ञानलाई व्याहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ । हामी शिक्षित भएर मात्रै हुँदैन विनयशील पनि हुनुपर्दछ ।’