यू–१९ विश्वकप एशिया छनोट : युवराज खत्रीले ५ विकेट लिएपछि ओमान १ सय १७ रनमा अलआउट

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा ओमानले नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा १ सय १७ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जीत व्रजेश शाहले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका युवराज खत्रीले ५ विकेट लिए ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । हिजो आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई डीएसएल मेथडका आधारमा ५ रनले हराएको थियो ।

एशिया छनोटमा नेपाल, ओमानसहित यूएई, अफगानिस्तान र हङकङ सहभागी छन् । छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् ।