
अमेरिकी भन्सार नीति : विश्व शेयर बजार, तेल र सुनको भाउमा उच्च गिरावट
एजेन्सी । अमेरिकाले आफ्नो देशमा आयात हुने वस्तुमा उच्च दरको भन्सार शुल्क लगाएपछि विश्व शेयर बजारमा उच्च गिरावट आएको छ । अमेरिकी भन्सार शुल्कका विरुद्ध चीनले सामान दरको प्रतिक्रिया दिएपछि त्यसको असर विश्व शेयर बजारमा परेको हो ।
शुक्रबारदेखि नै अमेरिका र युरोपका शेयर बजार उच्च अङ्कले घटिरहेकोमा एशियाका शेयर बजारमा पनि उस्तै गिरावट देखिएको बीबीसीले जनाएको छ । आजसम्म विश्वव्यापी रूपमा खर्बौं डलरको स्टक नष्ट भएको छ । लगानीकर्ताहरू सुरक्षित सम्पत्तिमा सरेकाले आज एशियाली इक्विटीहरूले धेरै क्षति बेहोरेका छन् ।
जापानमा निक्केई ६ दशमलव ५ प्रतिशतले घटेको छ । हङकङमा ह्याङ सेङ झन्डै १० प्रतिशत र साङ्घाई कम्पोजिट ४ प्रतिशतभन्दा बढी घटेको छ । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको नयाँ भन्सार दरले शेयर बजार मात्र हैन पेट्रोलियम पदार्थ र सुनको मुल्य पनि उच्च दरले घटेको छ ।
साउदी अरेबिया र रूससहितका तेल निर्यातकको सङ्गठन (ओपेक प्लस) ले आपूर्ति बढाउने निर्णय गरेपछि कच्चा तेलको अन्तर्राष्ट्रिय मुल्य घटेर प्रति ब्यारेल ६४ डलर भन्दा तल झरेको छ । यो ४ वर्षयताकै सबभन्दा कम भएको हो ।
पछिल्लो पटक कोभिड १९ का कारण तेलको माग घट्दा प्रति व्यारेल ६५ डलरमा झरेको थियो । एक वर्ष अघि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य प्रति ब्यारेल झन्डै ८८ डलर थियो । यस्तै सुनको मुल्य पनि घटेको छ ।
आज सुनको मुल्य प्रति औंश तीन हजार ३४ डलर भन्दा तल झरेको छ । छ दिन अघि अन्तराष्ट्रिय बजारमा सुनको मुल्य प्रति औंश तीन हजार एक सय ६७ डलर नाघेको थियो । शेयर लगायतका बजारमा घाटा भएपछि त्यसको पूर्तीका लागि सुन बिक्री गर्ने क्रम बढेपछि सुन मुल्य उच्च दरमा घटेको हो ।
विश्व बजार सुस्त भएर आर्थिक मन्दिको संभावना बढे पनि ट्रम्प प्रशासनले आफ्ना नीतिहरू परिवर्तन नहुने भन्दै भन्सार शुल्क अझै बढाउँदै जानेतर्फ अडिग रहेको बताएको बीबीसीले जनाएको छ ।