अमेरिकी कर नीतिले दोस्रो दिन पनि विश्व शेयर बजार प्रभावित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको नयाँ करका कारण आज देस्रो दिन पनि अमेरिकासहित विश्वको शेयर बजारमा गिरावट आएको छ । हिजो प्रभावित बनेको विश्व शेयर बजार आज पनि उसैगरी प्रभावित भइरहेको बीबीसीले जनाएको छ ।

ट्रम्पको नयाँ करको विरुद्धमा चीनले चालेको कदमका कारण विश्व सेयर बजार थप प्रभावित बनेको हो । यसले दीर्घकालीन व्यापार युद्ध र विश्व अर्थतन्त्रमा क्षति पुग्ने सम्भावना बढाएको छ । हिजो अमेरिकाका सबै तीन प्रमुख शेयर सूचाङ्कहरू ५ प्रतिशतभन्दा धेरैले घटे ।

सन् २०२० यता अमेरिकाको सेयर बजारका लागि यो सबैभन्दा खराब हप्ता हो । बेलायती शेयर बजारको सूचङ्क झन्डै ५ प्रतिशतले घट्यो, जुन पाँच वर्षयताकै सबैभन्दा ठूलो गिरावट हो । यस्तै एशियाली, जर्मनी तथा फ्रान्सका स्टक एक्सचेञ्जहरूले पनि यस्तै गिरावटको सामना गरेका छन् ।

विश्व व्यापार प्रणालीलाई पुनः निर्माण गर्ने वाचा गरेका ट्रम्पले, बजारमा आएको झट्काको चिन्ता लिन जरूरी नभएको र अमेरिकी श्रम बजार अझै बलियो रहेको बताउनुभएको छ । ट्रम्पले विश्वका सबै देशहरूबाट आयात गरिने सामानमा नयाँ १० प्रतिशत आयात कर घोषणा गरेपछि विश्व सेयर बजारले खर्बौको मूल्य गुमाइसकेको छ । विश्लेषकहरूका अनुसार ट्रम्पका कारण सन् १९६८ यताकै सबैभन्दा ठूलो कर वृद्धि हो ।