
सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री सहभागी नहुने
काठमाण्डौ । नेपालले आयोजना गरेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउनुहुने भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीको युरोप भ्रमण तय भइसकेकोले आउन नभ्याउने जानकारी गराउनुभएको हो ।
थाइल्याण्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेट फलदायि भएको र दुवै जनाले सम्बन्धलाई सुदृढ बनाउन अठोट गरेको भन्दै उहाँले सगरमाथा संवादमा भारतबाट उच्चस्तरीय टोली सहभागी हुने बताउनुभयो ।
संचारकर्मीहरुले अब तपाईँको भारत भ्रमण सम्भव होला भनेपछि उहाँले सम्भव र असम्भव भन्ने कुरा नरहेको भन्दै आफूहरुलाई फुर्सद भएमा सगरमाथा संवाद अघि नै भारतको भ्रमण हुन सक्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीसँग पञ्चेश्वर आयोजना, व्यापार, दोधारा चाँदनीमा महाकालीबाट सिंचाई गर्ने लगायत पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरुमा छलफल भएको बताउनुभयो ।
प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन जानुभएको थियो । उहाँले थाइल्याण्ड भ्रमण उपलब्धिमुलक रहेको बताउनुभयो ।