मानव अधिकार आयोगले तीनकुनेमा भएको घटनाको छानबिन गर्र्दै

काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले गएको चैत १५ गते काठमाण्डौको तीनकुनेलगायतका ठाउँमा भएका घटनाको छानबिन भइरहेको जनाएको छ ।

आयोगले विभिन्न टोली बनाइ घटना घटेका क्षेत्रको अनुगमन गरी तत्काल प्राप्त भएको जानकारीका आधारमा यसअघि आफ्नो प्रारम्भिक धारणासमेत सार्वजनिक गरिसकेको उल्लेख गरेको छ ।

तीनकुने घटनाका सन्दर्भमा मानव अधिकारको अवस्था र आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका टीका टिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

घटना घटेको दिन र त्यसपछि पनि आयोगले क्षति र मानव अधिकारको उल्लङ्घनका विषयलाई लिएर थप उजुरी र ज्ञापनपत्रसमेत लिएको जनाएको छ ।

घटनाको गाम्भीर्यता र उजुरीसमेतलाई मध्यनजगर गरी आयोगले घटना भएकै दिनदेखि अनुसन्धान टोली परिचालन गरी छानबिन र अनुसन्धान गरिरहेको प्रवक्ता पोखरेलको भनाइ छ ।

आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई हिजो भेटसमेत गरेको छ ।

त्यस्तै प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाको उपचारको अवस्थाबारे पनि आयोगको टोलीले विभिन्न अस्पतालमा पुगेर जानकारी लिएको छ ।

आयोगको छानबिन एवम् अनुसन्धानकार्यलाई सहयोग पुर्‍याउन सम्बद्ध सबैलाई आग्रह गरेको प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो ।