म्यानमारमा भूकम्पबाट भत्किएको घरमा पुरिएका चारजनाको ६० घण्टापछि उद्धार

एजेन्सी । म्यानमारमा भूकम्पबाट भत्किएको घरमा पुरिएका चार जनाको ६० घण्टापछि उद्धार भएको छ ।

गएको शुक्रबार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पका कारण उत्तरी सागाइमा भत्किएको घरबाट उनीहरूको उद्धार भएको बीबीसीले जनाएको छ । यसअघि एउटा भत्किएको अस्पतालबाट ३६ घण्टापछि एक महिलाको उद्धार भएको थियो । म्यानमार र थाइल्यान्डमा अझै पनि सयौं मानिस हराइरहेका छन् ।

भूकम्पमा परी अहिलेसम्म एक हजार सात सय जनाको ज्यान गएको छ भने झन्डै तीन हजार चार सय जना घाइते भएका छन् । म्यानमार र थाइल्यान्डमा राहत र उद्धारको काम भइरहेको छ । थाइल्यान्डको राजधानी बैंककमा मात्र १८ जनाको ज्यान गएको छ भने ७६ जना हराइरहेका छन् ।

अत्यावश्यक उपकरणको अभाव, कमजोर सञ्चार सञ्जाल तथा क्षतिग्रस्त सडक पूर्वाधार एवम् पुलका कारण खोजी कार्यमा असर परिरहेकोमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग हुन थालेको छ ।