
गोकर्णेश्वरमा युवकको हत्यामा संलग्न ६ जना पक्राउ
काठमाण्डौ । काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनि उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा राहुलको शव भेटिएको थियो ।
पक्राउ पर्नेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ का २२ वर्षीय निपु मण्डल र ४५ वर्षीय उत्तम मण्डल, चक्रघट्टा–६ का १८ वर्षीय विजय यादव, १८ वर्षकै करनकुमार महतो र २३ वर्षीय जोधन मण्डल तथा भारतको बिहार घर भएका २९ वर्षीय सुनिल शर्मा रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । निपु र जोधन गोकर्णेश्वर तथा सुनिल दक्षिणढोका बस्दै आएका थिए ।
उनीहरूले लेनदेनको विषयमा राहुलको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र यस विषयमा थप अनुसन्धान भइरहेको परिसरका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले बताउनुभयो ।