
टोखा नगरपालिकाले मुटु रोगको उपचारका लागि नगरबासीलाई ५० हजारसम्म दिने
काठमाण्डौ । टोखा नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को हिउँदे नगर सभाबाट संशोधित १० लाख बजेट विनियोजन गरि मुटु रोगको उपचारका लागि प्रति व्यक्ति २५ हजार सहयोग प्रदान गर्ने निर्णय गरेको थियो । त्यस्तै अतिविपन्न नागरिकका लागि वडाबाट सिफारिस भएकाहरुका लागि भने ५० हजारसम्म सहयोग गर्ने भएको छ ।
आईतबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा सो कार्यक्रम लागु गर्न शहिद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्र र टोखा नगरपालिकाबीच दुई पक्षिय सम्झौता भएको छ । टोखा नगरपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने नागरिकहरुले सो सेवा प्राप्त गर्नेछन् ।
सेवा लिनका लागि नगरबासीले स्थायी बसोबास गरेको देखिने नागरिकताको प्रमाणपत्र, बसाईसराईको प्रमाणपत्र, अतिविपन्न नागरिक भएको वडा कार्यालयको सिफारिस पत्र लिएर उपचारमा जाँदा ५० हजारसम्म नगरपालिकाले एकमुस्ट अस्पताललाई रकम उपलब्ध गराउनेछ । त्यस्तै नगरभित्र स्थायी बसोबास गर्ने जोसुकैले पनि मुटुको उपचार गर्दा २५ हजार सहयोग पाउनेछन् ।
सम्झौतापत्रमा मुटु रोगको उपचार गर्दा अस्पतालले नेपाल सरकारको संघीय अनुदान र प्रादेशिक अनुदानमार्फत् सञ्चालनमा रहेको निःशुल्क वा न्यून शुल्कीय उपचारको प्रक्रिया, निःशुल्क शैया तथा न्यून शुल्कीय उपचारका प्रक्रियाहरू अवलम्बन गरेश्चिात वा बाहेकको थप उपचार गराउँदा मात्र नगरपालिकाको सहयोग कार्यान्वयन हुनेछ ।
बिरामीको उपचार गरेपश्चात सम्झौताअनुसारको रकम लिनका लागि अस्पतालले नगरपालिकामा आवश्यक कागजात पेस गरेर मात्र लिन सक्ने व्यवस्था सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
आजकै मितिबाट असार मसान्तसम्म यो सम्झौता पत्रले काम गर्नेछ । त्यसपछि नयाँ आर्थिक वर्षमा पुनः सम्झौता नविकरण गर्नुपर्ने हुन्छ ।
सम्झौता पत्रमा टोखा नगरपालिकाको तर्फबाट नगर प्रमुख प्रकाश अधिकारी र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. रवि मल्लले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर समारोहमा टोखा नगरपालिकाका नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी ११ ओटै वडाका अध्यक्षहरू र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । त्यस्तै अस्पतालको तर्फबाट प्रशासन उपप्रमुख बिमला अर्याल, बरिष्ठ प्रशासकिय अधिकृत भूपाल आचार्य सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै मुटु रोगको उपचारमा नगरपालिकाले सहयोग गर्ने नीति लिएको बताउनुभयो । कोही पनि मानिस आर्थिक अभावबाट स्वास्थ्य सेवा लिनबाट बञ्चित हुन् नपरोस भनेर नगरपालिकाले हिउँदे अधिशेवनबाट बजेट संशोधन गरि कार्यान्वयनमा ल्याइएको प्रमुख अधिकारीले बताएका छन् ।
त्यस्तै अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रवि मल्लले नगरपालिकासँगको सम्झौताअनुसार अस्पतालले सेवा प्रदान गर्ने बताउनुभयो ।